Sunday, November 11, 2012

मिठो जिन्दगी (कविता)


मिठो जिन्दगी

म, पाहिला चल्न खोज्छु,
तिमी हिड्ने बाटो
भत्काउन तत्पर हुन्छौ,
म बैकल्पिक मार्ग खोज्छु,
तिमी मेरो गन्तव बदल्न खोज्छौ,
साँघुरा बाटाहरुको,
घुमाउर गल्छेडामा,
तिमी,एम्बुस थापेर,
मलाई तर्साउन खोज्छौ,
मलाई भगाउन खोज्छौ |

म तिमीबाट
जिन्दगीको एउटा पाठ सिक्छु,
सिक्ने कुरा कहिल्यै नसिद्धिने,
फेरी अर्को पाठ सिक्छु,
तिमी मेरो मौनता माथि
पट्यारलाग्दो राजनीति
थोपर्न खोज्छौ,
मेरो मौनतालाई,
तिमी समर्थन मान्छौ,
म हार्दीन,
तर तिमी,
आफुले मलाई जितेको मान्छौ |

म जिन्दगी जिउने कोशिस गर्छु,
एउटा सामान्य मान्छे बन्ने,
प्रयास गर्छु,
तिमी महामानव बन्ने,
हतारोमा दौड़न्छौ,
फगत इज्जत र प्रतिष्ठाको,
स्वार्थ झोलामा बोकेर,
कुदिरहन्छौ मात्रै,
तर बुझ्दैनौ,
एक सामान्य जिन्दगी,
भिड भाड भन्दा पर,
कुनै स्वार्थ बिहिन,
कुनै खोलाको किनारमा
झिरमा उनेर,
घाममा सुकाएर बेच्न राखेको
माछा जस्तो,
जति खारियो,
उति मिठो लाग्ने,
जति दु:ख पायो,
उति प्रिय लाग्ने,
पुरै पृथिवीलाई
उस्तै आँखाले देख्ने
तिमीले सोचे भन्दा सामान्य,
तिमीले बुझे भन्दा सामान्य,
तिमीले जाने भन्दा सामान्य,
पनि जिन्दगी हो,
मिठो जिन्दगी हो |



अजय ढुंगाना 
लण्डन
११/११/२०१२

Image source: http://leler.com/gallery/v/antarctica08/AntarcticaPhotoContest

No comments: