Sunday, December 30, 2012

जेपीटी कथा अंक १

जेपीटी कथा अंक १

चिकेन बारबीक्यु पिज्जा टोक्दै थिए, अकस्मात फोनको घन्टी बज्यो |
                   -----------------0-----------------------
कथाको सुत्रधार म नै हूँ र एउटा प्रमुख पात्र पनि, बीचबीचमा अड्मिल्दा कुरा गर्ने र अनपेक्षित गति लिन खोज्ने पनि मै हूँ |
                                   -----------------0-----------------------
ओहो!! फोन उठाउन ढिला भैसक्यो | स्टिभ जब्सको उत्पादनमा उनले ठिक ठानेको डिफल्ट धुन कोठा भरि बहकिदै थियो, फोन गर्नेका अंक नयाँ थिए | एकछिन है | अंकहरु नयाँ हुन सक्दैनन् कि भन्ने कुरा झट्ट माइन्डमा स्ट्राइक गर्यो | अंकहरु नयाँ त कसरि हुन सक्छन र नि, यी अंकहरु यही क्रममा फोनको कुनै कुनामा सुरक्षित गरिएका थिएनन त्यो बेग्लै कुरा, त्यति नहुदैमा ति अंकहरु नयाँ हुन सक्दैनन् नौला होलान बरु | सोच्दा सोच्दै त्यो डिफल्ट धुन टुंगियो, कोठामा पुरानै सन्नाटा छायो | तर त्यो केहि सेकेन्डका लागि मात्र थिए | फेरी उही अंकहरु त्यहि क्रमबद्दतामा दोहोरिएर देखा परे मोबाइलको स्क्रिनमा | यो पटक भने त्यो धुन सक्किनु भन्दा अघि नै फोन उठाए र भने "हेल्लो"
उताबाट आवाज आयो-"ओहो!! अजय, कति बेर लागेको फोन उठाउन ?"
उताबाट नामै किटेर प्रश्न तेर्सियो | तर आवाज चिनिहाले त्यो सक्षमको आवाज थियो |
                                   -----------------------0-----------------------
हामी स्थान समय र पलको बेफिक्री गर्दै अन्तरंग कुराकानी गर्न कहिल्यै पछि हट्दैनथ्यौ | रक्सिको मादकतामा त्यो अन्तरंग कुराकानीले जीवनको सातै रंग समेट्ने कोशिस गर्थ्यो | त्यसैले त हाम्रा लागि कुरा गर्ने टपिकको कहिल्यै स्कर्सीटी हुदैनथ्यो  | कहिले काँही एक दुइ जना साथीहरु आएर जोडीन्थे कुराकानीको बिचमा तर सक्षम एकलै काफी हुन्थ्यो कुनै पनि टपिकमा बहस गर्नका लागि | आज निक्कै दिन पछि उसको फोन आएको थियो, हामी दुइ जनाको हकमा एक साताको अन्तरल पनि निक्कै दिन भन्न काफी थियो | यो पटक पनि भेटघाट र कुराकानी नभाको यस्तै एक साता जति भएको हुनुपर्छ | म मनको स्पर्शको कुरा गर्न रुचाउथे, उ भने तथ्यहरु जोड्थ्यो | म मजाक गर्दै तथ्यांक हैन मिथ्यांक होला भनिदिन्थे, उ मुस्कुराउथ्यो, अनि फेरी हामी पुरानै चर्चामा फर्किन्थयौ | 
मलाई अनौठो लाग्यो अनि सोधे नम्बर कसरी नयाँ?? उसले भर्खरै लन्च भएको सम्सुङ्गको एस थ्री सेट लिएछ, नयाँ कनट्रयाकमा नयाँ नम्बर पनि लिएछ, नेटवर्क चेन्ज गरेछ | फोन गर्नका लागि उसंग प्रसस्त मिनेट हुने भो म त्यसैमा खुशी भए | मलाई भने ति सबै कुराबाट प्रसंग अन्तै मोड्न मन लाग्यो, मैले गफै गफमा सोधे, लेंदाईको मकै कथा पढिस?
                     ------------------------------0------------------------------------------
फेसबुक र टुइटर भरि त्यसैको चर्चा थियो बिगत केही दिन देखि, कथा नौलो थिएन, अभावको एउटा कथा आम नेपालीको कथा हो, लेख्ने शैली लोभलाग्दो थियो, शब्दहरुको समायोजन सुन्दर ढंगबाट गरिएको थियो |
सक्षमले उताबाट भन्यो, किन नपढ़नु बजार भरि त्यसैको त हल्ला छ अहिले, सायद यो भनिरहदा उ मुस्कुराहिरहेको थियो, म उसको अनुहार कल्पना गर्न सक्थे, दाँत देखाएर उसको हाँस्ने बानि थियो, उसका दाँत सेता थिए तर तल पट्टिको एउटा दाँत खप्टिएको थियो, तर यो कुरा उसले आजसम्म चित्त नबुझाएको मलाई थाह थिएन | त्यो उसको निम्ति समस्याको बिषय थिएन | अरुले उसका बारेमा के सोच्छन त्यो उसको समस्या थिएनन |
उसले भन्यो लेंदाई त्यतिबेला कोरिया जान नपाएर ब्यतिगत रुपमा उनलाई घाटा भयो होला तर ओभरल आजको परिस्थिति हेर्दा मलाई त्यति बेला जे भयो राम्रै भयो जस्तो लाग्यो | म रनभुल्लमा परे, मैले तीन पटक कथा पढीसक्दा पनि त्यो कहिल्यै सोचिन, मैले त्यो कथालाई कथा कै रुपमा छोडिदिए | त्यो कसैको बास्तबिक बिगतसंग मेल खाएको थियो भने पनि त्यसलाई एउटा संयोग नै सोची दिए | स्पेसिफिक लेंदाईको कथाबाट त्यो आम नेपालीको कथा बनाइदिए |
                                 --------------------------------0-------------------------------
लेंदाईको वास्तविक नाम लेनिन बन्जाडे हो क्यार, अझ पहिले त बसन्ते हो कि के थियो रे | उनि कारोबार दैनिकमा काम गर्ने एक आम पत्रकार हुन क्यार, उनको बारेमा न त सक्षमलाई न त मलाई नै धेरै थाहा छ न त व्यक्तिगत चिनाजानी नै | तैपनि सामाजिक संजालबाट भएको चिनाजानी बिस्तारै पुरानो बन्दै थियो | उनिसंग सायद एक साल जति पहिले पश्चिम सेती आयोजनको बारेमा मेरो चर्का चर्की डिबेट भाको थियो, समयले त्यो बिर्साउदै लग्यो, धेरै कुराहरु "रात गइ बात गइ" जस्तै भए | -बिस्तारै बन्जाडेजीको बारेमा बेला मौकामा उनकै मुखबाट टुइटरबाट धेर थोर कुरा सुन्न पाइयो,  तर उनि लेनिन भन्दा पनि लेंदाई कै नामले प्रख्यात (कुख्यात) खै के हो हुदै गए  टुइटरमा | मेरो करमा सक्षम पनि थपियो सामाजिक संजालको एउटा छेउमा अनि पाउना लाग्न आइपुग्यो |
                                  -----------------------0-------------------------------------------

त्यसपछि लाग्यो हाम्रो कुराहरु भन्ने अलि ठुलो ठाउँ भयो, सुन्नेहरु अलि धेरै भए, बिस्तारै त्यो भ्रम लाग्दै गयो | र कहिले लाग्थ्यो भ्रमहरु यस्तै हुन्छन, खेति गर्दै गयो बिउ कुहिदै जान्छ | सायद भ्रमका खेतीले कसैलाई फलिफाप हुन्न | यस्तो लाग्थ्यो हामी कहिल्यै नफाल्ने भ्रमका बोटहरु धमाधम धान खेतमा रोपिरहेछौ, गोडीरहेछौ र मलजल गरिरहेछौ | अझ मिल्यो भने अर्काको पालोमा पानी चोरेर पनि भ्रम खेतमा लगाउनु छ | सायद हामीलाई यो प्रमाणित गर्नु छ कि भ्रम खेतमा सुनौला धानका बालाहरु लाग्ने छन्, त्यसैले हामीलाई कुनै दिन फलिफाप हुनेछ, पुग्नेछ | मेरो कुरो सुनेर सक्षम मज्जाले हाँस्यो, सायद उसलाई लाग्यो कि म कुनै एउटा नन सेन्सेटिभ टपिकमा भद्दा मजाक गरिरहेछु | तर त्यहाँ हाँस्न ठिक थियो थिएन मलाई दिमागमा प्रष्ट स्ट्राइक गरेन |  म आफै अलमलिए | सक्षमले उताबाट भन्यो म अहिले फोन राख्छु तिमीसंग पछि कुरा गर्छु | मलाई उसको यो तरिका नौलो लाग्यो, उसले एक्कासी किन फोन राख्न चायो, मैले बुझ्ने सकिन | मलाई अझ अचम्ममा पार्दै, उसले मेरो जवाफको प्रतिक्षा नगरिकनै उताबाट फोन काटियो |
म यी सब कुरा एकसाथ बिर्सनका लागि एक कप कालो कफीको खोजीमा किचन तिर लागे, पानी उम्लिन लाग्ने २ मिनेटको समय निक्कै लामो लाग्यो | बिर्सन चाहिएका कुराहरु भन्ने बित्तिकै बिर्सन सकिएनन, बरु माइन्डमा फेरि फेरि स्ट्राइक गरिरहे, समय कहाँ आफुले चको जस्तो हुदो रहेछ र, लेंदाईको मकै कथालाई सम्झिए, पछिल्लो २ दिनमा ३ पल्ट पढेको थिए, शुरुमा एक्लै, त्यसको लगतै फ्ल्याट मेटलाई पढाएको थिए र आफुले पनि पढेको थिए, अनि बेलुकी श्रीमतीसंग संगै बसेर, हेरेक पटक बेग्लै अनुभूति भयो, हरेक पटक पढ्दा एकै शब्द हरुले पनि बेग्लै स्पर्श गरे, लाग्यो कथाको पात्र म आफै हूँ, कथाका सिक्बेन्सहरुलाई आफैसंग जोडेर हेर्न कोशिस गरे, लण्डनमा पैसा सकिदा र काम नहुदाको परिस्थितिहरु आँखा अगाडिबाट गुज्रिएर गए, नाचहादा नाचहादै पनि ति दृश्यहरु आँखा अगाडि प्रष्ट भए |   थेम्सको धमिलो पानी, अक्सफोर्ड सर्कसबाट लण्डन मेट्रोपोलीटेन्ट युनि अगाडिसम्मको बसको दिक्दारलाग्दो यात्रा | त्यो भव्य युनिको छेवै थियो सानो सस्तो फुच्चे कलेज | तैपनि त्यै सस्तो फुच्चे कलेज फि तिर्न धौ धौ थियो | निकासका बाटाहरु सगरमाथाभन्दा अग्लो पहाड काटेर जानुपर्ने देखिन्थे | लेंदाईलाई जस्तै मलाई पनि भबिष्य कै पिर थियो, आँखामा सजिएका सपनाहरु सजिब नहुने हुन कि भन्ने डर थियो | जिन्दगी एकै शब्दमा भन्दा त्रादसी पूर्ण थियो | तर यथार्थमा मलाई मकै कथाले अझ स्ट्रोग बनाउदै थियो, आत्माबिश्वासका पहाडहरु फेरि एकपटक मजबुत बन्दै थिए |
----------------------------------------------0-------------------------------------------------------------
ढोकाको बेल बज्यो, पानी तातेर चिस्सिन थालीसकेको रहेछ, ढोका खोलेर हेर्दा सक्षम आएको रहेछ, घर भित्र छिर्दै उसले भन्यो, यहाँ फ्ल्याटमा आइपुग्ने बेला भएर फोन काटेको नि, तैले थाह नपाएस भनेर | म फेरि एकपटक आफ्ना सोचाईहरुमा गलत भए | तर उसले भन्यो कफी मेरो लागि पनि तयार पार्नु नि, उसले कोठाबाटै अर्डर लगायो, तर उ उसको एज्युम्ड अर्डरमा सहि निस्कियो, म किचनमा कफी तयार पार्दै थिए |


अजय ढुंगाना 
लण्डन 
२८ अगष्ट २०१२ 



No comments: