Sunday, March 16, 2014

नेपालको ऎतिहासिक सफलताको साक्षी हुदै गर्दा


फागुले उन्मत्त दिन, जब साँझ ढल्कदै थियो, एउटा ऎतिहासिक पलको साक्षी हुदै थिए र म जसरी नै सारा नेपाली त्यो पलको साक्षी हुन चाहिरहेथे, खोजिरहेथे | १६ मार्च २०१४ आइतबारको दिन नेपाली क्रिकेट इतिहासमा युगौ युगसम्म स्मरण गरिने दिन बन्दै थियो | हल्का गर्मी बढे पनि, माहोल मज्जैले तातिदै थियो, सामाजिक संजालका भित्ताहरु शुभकामनाका शब्दहरुले भरिएका थिए, इन्द्रधनुषी अबिरका रंगहरुले सजिएका थिए | सबैको आँखा चिर परिचित प्रतिद्वन्दी हंगकंग तिर थिए | जो पछिल्लो समय उत्कृष्ठ खेल खेलेर प्रशंसाको पात्र बनेको थियो, यसर्थ हामी सबैलाई थाह थियो, यात्रा सहज छैन |  
खेल शुरु हुनुपूर्व खेलको नियम अनुरुप भएको टस हंगकंगले जित्यो र नेपाललाई पहिले ब्याटिंगको लागि आमन्त्रण गर्यो | पहिलो ब्याटिंग नेपालको एउटा कमजोरी हो, कमजोरी यसर्थ कि पहिले ब्याटिंग गर्दा नेपाली टोलि "कम्फ़टेबल" फिल नगरेको हामीले धेरै देखेका छौ अनि संगसंगै पहिले ब्याटिंग गरेर धेरै खेल गुमाएको पनि देखेका छौ | तैपनि त्यो सबै कुरा थिएन, संयमित भएर ब्याटिंग गर्नु पर्ने थियो र पहिलो जित दर्ज गर्नु पर्ने थियो | अन्तत त्यो महान समय आयो र नेपाल र हंगकंग दुवै देशले पहिलो पटक विश्वकपमा डेब्यु गरे | 

धड्कन बढ्दै गयो, रगत तात्दै गयो, चिटगांवको जहुर अहेमद चौधरी स्टेडियममा चन्द्र सुर्यको ध्वजा फहरिन थाल्यो, म भित्र संचित राष्ट्रियताका कण कण लौरी टेक्दै मुटुसम्म आइपुगे र एकै सासमा चिच्याउन खोजे "नेपाल" "नेपाल" भन्दै, आँखामा अनायास खुशीका आँशुहरु एकत्रित भएर बहन खोजे, राष्ट्रिय गानको धुन सुनिरहदा परदेशी माटोमा अनायास नेपालीत्व खचाखच भयो, थेग्नै नसक्ने झैँ गरि | 


खेल शुरु भयो नेपाली खेलाडीले दर्शकको चाहना जस्तै ब्याटिंग गरे, एकाध सट बाहेक त्यो निक्कै प्रोफेसनल देखिन्थ्यो, स्टेडियममा तालि बर्सिरह्यो, चन्द्र सुर्य फ़हरिरहे| स्टेडियम मै पुगेर यो पलको साक्षी हुनेहरुको संख्या पनि कम्ता थिएन, ति सबैले नेपाली खेलाडीलाई हौसाइरहे, नेपाली खेलाडीले पनि खेलको "स्पिरिट" अनुरुप नै ब्याटिंग गरिरहे | कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको ८० रनको साझेदारी सम्झन योग्य रह्यो, त्यो साझेदारीले खेललाई नयाँ उचाईमा पुरायो | ब्याटिंग को अन्तिमको क्रम "डेड ओभर" ताका नेपालले रनको "रिदम" गुमाए जस्तो लाग्यो, बस्ताबमा ठुलो योगफल तिर लम्कन खोज्दा केहि खेलाडी आउट हुन पुगेर तेसो भएको थियो | २० ओभरको समाप्तिमा नेपालले डिफेन्ड एवल टोटल बनायो | 



जब हंगकंग ब्याटिंग गर्न आयो, नेपालले ड्रिम स्टार्ट गर्यो, इनिगको पहिलो बलमा नै पारस खड्काले हंगकंगका इराफ़न अहेमदलाई विकेट पछाडी विकेट किपरलाई समात्न लगाएर आउट गराए | बिपक्षी टोलीको "गोल्डन डक आउट" कुनै पनि समर्थकलाई त्यो भन्दा खुशीको कुरा अरु के हुन सक्ला र ?? युवा खेलाडी सोम्पाल कामीले हंगकंग टिम ९ रन हुदा दोश्रो विकेट लिए पछि हंगकंग सम्हालिनै सकेन | संजय मंजेकर, रामिज राजा, रसेल्ड एर्नोल्ड हरुले नेपाली बलिङ्ग तारिफ गरिरहदा छाति खुशीले ढक्क फुलिरहेका थिए | नेपाली टोलीको समर्थनमा आफै कस्सिएका मेरा हातका मुट्ठीहरु अझ दह्रो बन्दै थिए | बसन्त दुइ बलमा दुइ विकेट लिएर क्रिकेटको दुर्लभ ह्याट्रिक नजिक पुग्दा म खुशीले चिच्याई रहेको थिए | हंगकंग टोलि ५८ रनको अवस्थामा हुँदा ४ खेलाडी आउट भए पछि, नेपाललाई विश्वकपमा आफ्नो पहिलो जित दर्ता गर्न कुनै माइक्लालले रोक्न सक्ने अवस्था थिएन | फेसबुक र टुइटर बधाईको धनिनासक्नु पसारो ओइरीसकेको थियो | मलाई कता कता ति सबै बधाई म आफैले पाए जस्तै लागिरहेको थियो | म आफै बंगलादेशमा क्रिकेट खेलिरहेछु, म नै रन बनाइरहेछु र म नै क्याच समाइरहेछु अनि म नै ति हंगकंगका खेलाडीलाई "क्लिन बोल्ड" गरिरहेछु जस्तै अनुभूत भैरहेथ्यो | म कल्पनाको दुनियामा मस्त जिई रहेथे |

शक्तिले निक्कै नै राम्रो बलिङ्ग गर्दै आफ्नो स्पेल ३ विकेट ९ रनमा सके | बसन्तले त्यति नै विकेट लिएर १३ रन दिए, विश्व कै उत्कृष्ठ बलरलाई पनि टि-ट्वान्टीमा त्यो फिगर मेन्टेन गर्न हम्मे हम्मे पर्छ | नदीम अहेमदलाई जितेन्द्र मुखियाले क्लिन बोल्ड गरेपछि हंगकंग ६९ रनको झिनो स्कोर मै समेटियो र नेपाल ८० रनले बिजयी भयो | र नयाँ इतिहास कोरियो र म त्यो इतिहासको सक्षात साक्षी भए | खेल सकिए पछि स्कोरकार्ड हेर्दै गर्दा म अझ अचम्मित के मा भए भने नेपालले एउटा मात्रै एक्स्ट्रा रन दिएको रहेछ | त्यो पनि नो बल, वाइड, बाइ रन नभएर लेग बाइ मात्रै थियो, यति सन्तुलित बलिङ्ग थियो कि त्यो कुनै एसोसिएट राष्ट्रको बलिङ्ग कार्ड जस्तै लाग्दैनथ्यो, तर त्यहाँ हाम्रै खेलाडीहरुको नाम थियो, शक्ति, शक्ति, बसन्त, सोम्पाल, पारस आदि |


खेल जितेर नेपाल अंक तालिकाको पहिलो स्थानमा बस्यो, तर अझै सबै टोलीको २-२ खेल बाँकि छ र टेक्निकल्ली सबै टोलीको अर्को चरणमा जाने सम्भावना जिवितै छ | पर्सि अर्थात् (१८ मार्च) को दिन नेपालले आयोजक बंगलादेश संग त्यहि मैदानमा खेल्दैछ, आजको जस्तै खेल खेले खेलको नतिजा जे पनि हुन सक्छ | नेपाल दोश्रो चरणमा जान अबको दुवै खेल जित्नै पर्ने हुन्छ (बंगलादेशलाई हराए अरु समिकन नि हुन सक्छ) तैपनि एउटा समर्थकको रुपमा मैले हाम्रो स्तर र औकात हेरेर बुझेको कुरा के हो भने हाम्रो लागि दिल्ली निकै परको कुरा हो | 


(आइसीसी क्रिकेटको वेब साइट र इएसपिएन क्रिक इन्फोको साइटबाट लिइएको अरु थप तस्बिरहरु)





No comments: