आकाशजत्रो मान्छे:भवानी घिमिरे
कविता लेख्नेहरू निलो आकाशमा अक्षर देख्छन््, छाँगा-छहराहरूमा ढकमक्क फूल फुलेको देख्छन्, भुवाझैँ भावनामा उडिरहने उनीहरू माटोलाई सुनजस्तै मूल्यवान ठान्छन् । एउटा यस्तै कवि मान्छे कहिले टिस्टाका नागवेली दृश्यहरू हेर्दै कहिले स्वच्छ, स्निग्ध कञ्चनजङ्गालाई मनभरि सङ्गाल्दै, पहाडका थुम्काथुम्कीहरू चाहार्दै सिन्ताम, देउराली हुँदै सिक्किमका गाउँ-बस्तीहरूसम्म पुग्थे, कहिले हरिभक्तका पाइलाहरू पछ्याउँदै वुगीवील, डिब्रुगढ, डिगवोईसम्म पुग्थे । मेचीका किनारहरू हुन् या ब्रम्हपुत्र, गङ्गाका किनारहरू, उनी कहिले बनारस पुग्थे, कहिले डुवर्स, आसाम, मणिपुर पुग्थे । उनी जहाँ पुगे पनि नेपालीहरूकै मायामा घेरिएर बसेका हुन्थे । एउटँ उत्कट अभिलाषा, नेपाली भाषा र साहित्यको अभिवृद्धिका निम्ति आतुर भएर विगत ४५ वर्षदेखि यसरी फकिरझैँ हिडिरहका ती कविमान्छे थिए भवानी घिमिरे ।
भवानी घिमिरेको जन्म वि.सं. १९८७ आश्विन विजया दशमीका दिन मोरङको विराटनगरमा पिता हिरण्यनाथ उपाध्याय र माता हाटकेशरीदेवीको माहिलो छोराको रूपमा भएको थियो । सभ्रान्त परिवारमा जन्मिएका घिमिरेको वाल्यकाल सुखमा बित्यो । हजारौं बिघाका धनी उनका पिता हात्तीमा चढ्थे, सामन्ती रोवरबाफ देखाउँथे । एक दिन एउटी आइमाई आएर मनका पीर, व्यथाहरू पोख्दै उनका अगाडि बलीन्द्र आँसुका धारा बगाउँदा पनि ढुङ्गाजस्ता मन भएका उनका पिताले ती आइमाईलाई गाली बेइज्जती गरे, त्यही बेलादेखि ७-८ वर्षे बालक भवानीमा भावनाका रङ्गहरू देखिन थाले । सामन्ती थिचोमिचोप्रति कटाक्ष गर्दै उनी त्यो समयपछि विरोधका आवाजहरू बोल्न थाले । उनको सङ्गत अभाव, समस्या, छटपटी बाँचेका निम्न वर्गका मान्छेहरूसँग हुन थाल्यो । यो कुरा उनका गरीबमारा पितालाई मन परेन । कडा मिजासका उनका पिताबाट शारीरिक र मानसिक यातना खपिरहनुपर्यो बालक भवानीले । एक दिन आफ्ना पिताले रगताम्मे हुने गरी टाउकोमा चोट लगाएपछि पहिलोपटक भवानी बाबुको विरोधमा विद्रोही भएर देखा परे । बाबुको रूखो र आततायी व्यबहारबाट वाक्क-दिक्क भएर एक रात भवानी मधुमारास्थित बडेमानको घरको सुखसयल छोडेर खेतका आलीहरू हुँदै भाग्दै जोगवनी पुगे । त्यहाँबाट उनी आफूले मानसपटलमा सजाएको बनारसतिर लागे । त्यस बेला उनी चौध वर्ष पुगिसकेका थिए ।