Thursday, November 25, 2010

हिउदका प्रेम गीत (कविता); अजय ढुंगाना

हिउदका प्रेम गीत

हिउदका प्रेम गीत,
हिउदमा हिउ परेको समयमा,
तिमीलाई सुनाउदा,
तिमी मख्ख परेर मुस्कुराउथ्यौ,
म आफैमा दंग पर्थे,
प्रतिक्षाको बेचैनी समयका अगाडि,
समयलाई लात मारेर,
एक अर्काको अंगालोमा,
आनन्दित भै चुम्बन गरिरहेका हुन्थ्यौ,
बाहिर हिउ परिरहेको हुन्थ्यो |

कपास झैँ नरम हिउका बुद्हरु,
छुन खोज्थे हामीलाई,
छुन सकेका हिउहरु,
उत्साही हुदै बतासिन्थे बतासमा,
मनको स्पन्दनमा
तिम्रो माया बतासिए झैँ,
आकाशमा |

म आकाश हेर्थे,
हिउदका प्रेम गीत,
दंग परेर तिमीलाई सुनाउथे,
संगीत ताल र लय बिना,
तर पनि तिमी मुस्कुराउथ्यौ,
संग संगै गुनगुनाउथ्यौ |

निश्चल, कन्चन हिउका थुप्राहरुमा,
तिमी कोर्थ्यौ आकृति मेरो,
अनि जिस्काउथ्यौ मलाई,
म गुनगुनाई रहन्थे,
हिउदका प्रेम गीत |

तर, बर्षौ पछि,
आज म एक्लै हुदा,
तिम्रो अभावमा,
मेरो एक्लोपनमा,
जलिरहेछ हिउ,
अनि मलाई पोलिरहेछ,
यो हिउदको हिउ,,,,,,,,|



























अजय ढुंगाना
२०१० जनवरीको पहिलो साता
लण्डन


Image source: http://dacnosampmi.blogspot.co.uk/2010/02/love-snow.html

No comments: