Tuesday, December 7, 2010

गलत लाग्छ मलाई मेरो देशको इतिहास (स्व. भूपी शेरचनको कविता)

जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो बाटोमा बीचमा माटो खनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यी भूकम्पपीडित मन्दिर

ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई
सधै त्यहीं— सधै उस्तै र
सधै एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास
जब म
असङ्ख्य सीताहरुलाई सधै
बाटो–दोबाटोमा,
गल्ली–गल्लीमा,
देश–विदेशमा,
यूक्लिप्टसका रुखझैं नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल, चुपचाप उभिएका
आफ्नो आत्माको गीत मारेर
कल्कीका बोटझैं
दुबै हात तल झारेर
तब मलाई गरु-गरु झैं लाग्छ
आफ्नो रगतको उपहास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
सुन्छुः अमरसिंह काँगडासम्म बढेको कुरा
सुन्छुः तेन्जिङले सगरमाथा चढेको कुरा
सुन्छुः बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सुन्छु: अर्निकोको कलाले विश्व–मन हरेको कुरा
सुन्छुः सधै सुन्छु र केवल सुन्छु
तर मलार्इृ हुदैन विश्वास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास ।

स्व. भूपी शेरचन

No comments: