Friday, December 17, 2010

शिरीषका फूलहरू(कविता); गोबिन्‍दराज विनोदी

देखे शिरीषका फूल फुलेको यो वनैभरि
नीलो सारी लगाएकी बैसालु  युवती सरी

यो जेठ महिना, केही पानीका छन् छिटाहरु
युवतीसित जिस्केझै बैसमत्त ठिटाहरु !
जलको स्पर्शभै झर्छन् लजाई धरतीतल
यी साना फूलका अङ्ग कति कोमल निर्बल !

कति सुन्दर त्यो रङ्ग, रुपको अभिदशर्न
हेर्यो  जति अझै हेर्न  हुन्छ उत्सुक यो मन !
कस्तो क्षणिक चोला यो, जिन्दगी कति स्वप्निल,
सानै आघातले  फुट्ने कमजोर कठै ! दिल

हेर्दा शिरीषका फूल, जिन्दगी पनि देखियो
सुनौला मनको पाना भरी यो पद्य लेखियो ।

२०६५/२/४
गोबिन्‍दराज विनोदी
हिमस्पर्श कविता संग्रहबाट

No comments: