Wednesday, June 29, 2011

मेरो चोक (कविता); भूपी शेरचन



मेरो चोक
साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन ? सबथोक छ ।
असङ्ख्य रोग छ, अनन्त भोक छ,
असीम शोक छ,
केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ ।
साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन ? सबथोक छ ।
यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता
यी दुबैथरिको निवास छ ।
तर यहाँ यी दुबैथरी उदास छन् ।

दुबैथरि निरास छन् ।
मानिस उदास छन्
किनकी तिनलाई यहाँ
रात–रातभरि उपियाँले टोक्छ
दिन–दिनभरि रुपियाँले टोक्छ
र देवता उदास छन्
किनकी तिनलाई यहाँ
न कसैले पुज्छ न कसैले ढोग्छ
त्यसैले यो चोकमा
देवता र मानिसले
एक–अर्कोलाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन ? सबथोक छ ।

भूपी शेरचन
'घुम्ने मेच माथि अन्धो मान्छे' कविता संग्रहबाट

No comments: