Sunday, October 23, 2011

मेरो उपन्यासको पानाबाट; अजय ढुंगाना

                                 मेरो उपन्यासको पानाबाट



चिन्ताले मन ढक्क फुलिरहेको जस्तै भएको थियो | कुनै अजंगको चिन्ता, अझ भनौ अजिंगर जस्तै डरलाग्दो चिन्ता | उसलाई थाहा थियो, मेरो चिन्ता के हो भनेर, म उसलाई आफ्ना कुरा नभनीकनै कहाँ बस्न सक्थे र ? जस्तो उ, उ पनि आफ्नो सानो भन्दा सानो कुरा सबैभन्दा पहिले मलाई भन्थ्यो, यसको एउटा रीत बसिसकेको थियो, एउटा सिलसिला |
उ कोठाबाट बाहिर गयो, अनि केहि बेरमा भित्र आयो | भित्र आएर उसले भन्यो 
"अजय तास खेलौ"
मैले कुनै प्रतिक्रिया जनाइन |
प्रतिक्रिया नजनाउनु कुनै अनौठो थिएन |
उसले पुनः मलाई कर गर्यो | कर मात्रै होइन, अचम्मको हठ गर्यो, जिद्दी जनायो, यस्तो जिद्दी कि एउटा सानो बच्चाले आफ्नो बाबुसंग सुत्ने बेलामा कथा सुनाउनका लागि गरेको जिद्दी जस्तै | निस्वार्थ | तर पनि मैले भने "जाँगर छैन |"
उ फेरी कोठाबाट बाहिर निस्कियो र छिट्टै नै कोठामा फर्कियो | उसको हातमा दुइटा चियाको कप थियो, उसले एउटा मलाई दिदै भन्यो 

"ल अब यो चिया खा अनि तँलाई जाँगर आँउछ, जिन्जर टि हो तेरो बेस्ट"
मैले भने "चियाका लागि थ्यांक यु, तर म तास खेल्दिन |"

उसले फेरी भन्यो "आइज न, म्यारिज खेलौला, तेरो बेस्ट गेम |"
मैले भने "हामी दुइ जना मात्रै?"
उसले अनौठो किसिमले मलाई हेर्यो, यस्तो लग्यो कि मैले केही गल्ति बोले, उसको त्यो अनौठो मिश्रित हेराई मै मलाई केही सोध्न खोजे जस्तो लाग्दै थियो, तर मैले प्रसङ्ग मोड्दै भने,
"वाई द वे, थ्यांक्स एगेन फर टि |"
उसले भन्यो "धेरै थ्यांक युको नाटक नगर, छिटो उठ तास खेलौ |"
उ खाटको एक छेउमा बसेर तासको चक्की फिट्न थाल्यो |
मैले फेरी सोधे "हामी दुइ मात्रै "
उसले भन्यो "पहिले पहिले त हामी दुइ मात्रै खुब खेल्थ्यौ त, तैले कहिल्यै यस्तो नाटक गर्थिनस, आज के भै-रहेछ तँलाई ?"
मैले सम्झिय, म केही बेर अगाडिसम्म कुनै सोचमा डुबिरहेको थिए, कुनै अजङ्गको चिन्ताले खोक्रो बनाउन खोजिरहेको थियो, तर खै अहिले त्यो चिन्ता अनि त्यो व्यथा, अह, त्यस्तो केही थिएन मसंग अहिले | मनको शितल पवनले त्यो चिन्तालाई उडाएर धेरै पर पुराएको थियो, अझ भनौ एउटा आत्मिय साथीको स्नेह र स्पन्दनले मन भित्रको चिन्ताका बादललाई टुक्रा टुक्रा बनाई सकेको थियो | मनबाट चिन्ताको बादल फाटी सकेको थियो | जुन कारण मैले उसंग तास खेल्दिन भनेको थिए, अब त्यो कारण नै मनमा थिएन |
म तास खेल्नका लागि तयार हुदै भने  "ल भन् अब, यो मैत्रीपूर्ण खेलमा हार्नेले के गर्नुपर्ने ?"
उसले भन्यो "अहिले बाहिर गएर खाजा खुवाउनुपर्ने |"
मैले भने "अल्कोहलिक कि नन अल्कोहलिक ?"
उसले केही भनेन, हाँस्यो मात्रै, म मुस्कुराए |
..........................................................

यतिबेला म उसको खाटमा पल्टिरहेको थिए, उ तल भुइँमा बसेर ल्यापटप चलाउदै थियो, मैले उसलाई भने " नेपालमा तँ र म मात्रै हुदा तास खेलेको याद आयो |"
उसले भन्यो "तँ र म मात्रै हुदा कति पटक तास खेलेका छौ, त्यसको कुनै लेखा जोखा छैन, तर तँलाई कुन दिनको याद आयो ?"
उ हाँस्यो |
मैले भने "त्यही दिन |"
उसले भन्यो "कुन दिन ?"
"त्यही दिन क्या" 
"कुन दिन त नि ?"
"त्यही दिन"
"कुन दिन ?"
"त्यही दिन क्या" 
"कुन दिन ?"
मैले लामो स्वास लिदै भने, "जुन दिन मैले शुरु मै तास खेल्न नमानेको थिए नि, अनि तैले जिन्जर टि खुवाएर मानेको थिइस नि, त्यही दिन |"
उ हाँस्यो "आज पनि जिन्जर टि", यहि भन्दै उ मज्जाले हाँस्यो, उसको हाँसो कोठा भरि फिजिएको थियो | उ मज्जाले धेरै बेर हाँसी रह्यो, निश्छल कन्चन हाँसो |
म मुस्कुराइरहेको थिए |
कोठामा अझै पनि त्यही गीत बजिरहेको थियो;
"गोरेटो अनि उस्तै छ गल्लि,,,,,,,,,,,,,,,,,,,,,,"

क्रमश:


अजय ढुंगाना

No comments: