Wednesday, May 18, 2011

(न) परिबर्तन (कविता); अजय ढुंगाना

(न) परिबर्तन

त्यो बदलिरह्यो,
एउटा सामान्य रितमा,
जसरी मौसम बदलिन्छ,
जसरी ऋतुहरु बदलिन्छन्
एक परिबर्तनका लागि |

एक दृश्य,
जो देखिएको छ मेरो नजरमा,
तिम्रो आखाको कोणबाट,
त्यही नदेखिन सक्छ,
त्यस्तै नदेखिन सक्छ,
म, मनको बदलाबको कुरा गर्छु,
जुन तिम्रो मस्तिष्कले नबुझ्न सक्छ,
तिम्रो मनले पनि नबुझ्न सक्छ,

एक आश,
जसमा म जीवन देख्छु,
देख्छु जीवनको सार्थकता,
त्यही आश,
तिम्रा निम्ती,
एक सामान्य परिबर्तन हुन सक्छ,
पानीबाट बाफ, बाफबाट ठोस,
हो, यो एक परिबर्तनको सृंखला,

एक सामान्य रितमा,
मौसमहरु बदलिए जसरी,
ऋतुहरु बदलिए जसरी,

एक दृश्य,
जो जेलिएको छ मेरो नजरमा,
हुनसक्छ तिम्रा लागी स्पष्ट सचित्र,
कन्चन, निर्मल र निश्चल,
चित्र एकै हो,
फरक केवल छ,
तिम्रो बुझाई र मेरो भाषाममा;
तिम्रो वदला र यो परिबर्तनमा |

त्यसैले तिमी तिमी हौ,
म, म हूँ,
तिमी म होइनौ,
र म तिमी पनि होइन,
त्यसैले सामन्जस्यताको एक मुद्दामा,
तिमी र म लडीरह्यौ,
झुण्डीरह्यौ,
तिमी तिम्रो किसिमबाट,
म आफ्नो तवरबाट,
थोत्रा विचारहरु चिच्याईरह्यौ,
कराईरह्यौ,
....................................
नथाकुन्जेल,
थाके पछि केहीबेर बिश्राम गर्यौ,
अनि फेरी लडीरह्यौ
चिच्यारह्यौ,
एबं रितमा,
एबं रितमा.............
थाहा भयो त्यति नै बेला,
होइन रहेछ त्यो बदलिएको,
होइन रहेछ त्यो परिबर्तन,
राजतन्त्रबाट गणतन्त्रै भए पनि,
होइन रहेछ त्यो परिबर्तन,
जब सम्म बदलिन्न तिम्रो र मेरो
मस्तिष्क भित्रको कुहिएको थोत्रो विचार,
अनि संकुचित हेराईका दयाराहरु,
होइन रहेछ त्यो परिबर्तन,
होइन रहेछ त्यो परिबर्तन |

अजय ढुंगाना

No comments: