तिमीले रोजेको बाटो
२०५९ मङ्सिर अर्थात् माओबादी जनयुद्ध चलिरहदा लेखिएको कविता, आज पहिलो पटक यो ब्लगमा
हिड्नु पर्ने बाटो,
सजिलो थिएन,
तैपनि तिमीले बोलायौ,
म गइन |
तिमीले अन्धकारमा यात्रा शुरु गर्यौ,
म पनि यता,
लोडसेडिंगको मार खेप्दै थिए,
बिहान उठ्दा,
तिमीले स्कुल जलाएर आगो तापेछौ,
मैले त्यही दिनदेखी,
स्कुल जान छोडीदिए |
तिमीले सोच्यौ,
तिमी देशका लागि लड्दैछौ,
मैले सोचे,
म तिमीसंगै,
देशका बिरुद्ध लड्न गइन,
तिमीले सोच्यौ,
तिमी सही बाटो हिड्यौ,
मैले सोचे,
म गलत बाटो हिडिन,
मैले तिम्रो मनोदशा बुझिन,
बिहान उठ्दा,
तिमीले राती बैंक लुटेछौ,
तिमीले राती पुल भाचेछौ |
तिमीले बन्दुकका नाल बीच यात्रा शुरु गर्यौ,
मैले यता,
सेता परेवा उड्न छोडेको देखे,
तिमीले गाउँमा सफायाको अभियान चलायौ,
रगतको खोला बगायौ,
फेरी बेलुकी तिनैकोमा,
भात माग्न आयौ,
तिमीलाई देखेर तर्सिएर,
बलिया बाङ्गा अरब पसे,
चिचिला मिचिला उठाएर लग्यौ,
गाउँ उजाडियो,
शहरमा अन्नको हाहाकार मच्चाएर,
तिमी दंग पर्यौ,
बिहान उठ्दा सुने,
तिमीले सयौ जवानलाई,
एम्बुसले एकै चिहान बनायौ |
आजकल बिहान त्रादासी पूर्ण हुन्छ,
पुजा गर्न फूल टिप्न सक्दिन,
रगतको छिटाले भिजेको हुन्छ,
खबर कागज समात्न सक्दिन,
रगतकै छिटाले लतपतिएको हुन्छ,
तिमीलाई लाग्छ होला,
तिमी सफलताको उत्कर्ष तिर,
लम्कदै छौ,
म, भांचिएको पुल मुन्तिर बसेर,
जलेको स्कुलको भित्ताहरु हेरेर,
उजाडिएका बस्तीहरु,
लुटिएका बैंकहरु,
मसानघाट बनेका गाउँहरु,
अनि एम्बुसको धरापले,
डराएका सडकहरु हेरेर,
तिम्रो सफलता नाप्न सक्दिन,
तिम्रो मनोदशा जाँच्न सक्दिन ||
अजय ढुंगाना
२०५९ मङ्सिर
फोटो: गुगल
1 comment:
hidnu parne bato sajlo thiyena .. tesaile maile bolaye .. tara timi aayenau ..galti timile nai garyau..
Post a Comment