Tuesday, April 26, 2011

मध्याह्न दिन र चिसो निद्रा; (कविता), भूपी शेरचन



मध्याह्न दिन र चिसो निद्रा

अखबारको ‘वान्टेड कालम’ –मा
म आफ्ना आउने दिनहरुको अनुहार खोजिरहेछु,
प्रत्येक जुलूस, सभा, भाषण
र नयाँ योजनाका फाइलहरुमा
पाइला टेक्ने आधार खोजिरहेछु—
नयाँ बजेटको ओठमा
खोजिरहेछु आश्वासन
रेडियो–घोषणासँग मागिरहेछु
सान्त्वनाका दुई शब्द
नयाँ पे–स्केलले नापिरहेछु
म आफ्नो परिवारको आयु;
प्रत्येक खाली सिटको सूचनाले
मलाई जवान बनाउँछ
प्रत्येक इन्टरभ्यूको परिणाम सुनेर
जीवन, काखीको पसीनाझैँ गन्हाउँछ,

आमाको ममतामा पनि
कसैले नैराश्य घोल्दछ,
बाबुको प्रोत्साहनमा पनि
चिसो सुस्केरा बोल्दछ
कुमारी बहिनीको स्यूँदोसँग,
सिन्दूर झस्के झैँ लाग्छ
पत्नीले थालमा सधै–सधै
व्यङ्ग्य पस्केझैँ लाग्छ
एक युग बित्यो
म आफ्नो बिन्तीपत्रजस्तो अनुहार बोकेर
भट्किरहेछु दर–दर
पुगिरहेछु घर–घर
एक चिसो निद्राले मलाई
छोपिरहेछ निरन्तर,

मलाई थाहा छ
यसपल्ट म निदाएँ भने
फेरि कहिल्यै पनि म बिउँझन सक्तिनँ
त्यसैले
ए झुसिल्कीराझैं लाम लागेकाहरु !
ए नाराका अक्षरहरु !
अरु जोर–जोरसित नारा लगाऊ
उफ् ! म निदाउन चाहन्नँ यो दिउँसै
मलाई जगाऊ, मलाई जगाऊ ।


 भूपी शेरचन

No comments: