Saturday, December 10, 2011

बेमौषमको कथा; अजय ढुंगाना


बेमौषमको कथा


किन्चित, मस्तिष्कमा अल्झिएका पुराना कुराहरु सम्झीरहेछु | बाहिर बेजोडको हावा चलिरहेछ | हावाले मनमा एउटा भय उत्पन्न गराइरहेछ | झ्यालको छेउमा गएर उभ्भिएर बाहिर हेर्छु | आकाश डरलाग्दो देखिन्छ, साझको चार बज्न खोज्दैछ, साझ यसअर्थ कि अन्धकार बढ्दैछ, समय साझ जस्तै बनेर उभ्भिएको छ | बेजोडको हावा-हुरीले मन फेरी भयभित बन्छ | मन चिस्सिएर आँउछ, अनि बिस्तारै पुरै शरीर नै चिसो हुन्छ | मोजा नलगाइएका खुट्टाहरु एक माथि अर्कोले टेक्दै तातो बनाउने कोशिश गर्छु | हातले सेन्ट्रल हिटिंगका पाताहरु छुन्छु | एकै छिनमा हात पोले जस्तो हुन्छ, हात सेन्ट्रल हिटिंगका पाताबाट हटाउछु | सेन्ट्रल हिटिंगका पाताहरु आफैमा ताता थिए तर कोठा तातेको थिएन | चिसोका सृंखलाहरु शुरु भएका थिए | डिसेम्बरको पहिलो हप्ता भर्खरै सकिएको छ, खाटमा रहेको ल्यापटपमा बि.बि.सी.नेपाली सेवाबाट प्रशारण हुने समाचार बजिरहेछ, मेरो पुरै ध्यान त्यो समाचारमा मात्रै छैन | म अरु नै केही पनि सोच्दैछु, तर के यति बेला बिर्सीसके | 

एकै छिनमा खाटमा आँए, सिरक ओढे र भित्तामा आढेस लगाए | सिरक भित्रको न्यानोमा खुट्टाहरु खुशी थिए | हातहरु भने मुखसम्म पुगिसकेका रहेछन, उफ्फ़ फेरी नंग टोक्न थालिसकेछु | सम्झे पछि त्यो छोडे, अनि चस्मा खोलेर चस्माका शिशाहरु पुछे र लगाए | चस्मा दोषी होइन रहेछ, कोठामा नै उज्यालो कम भएको रहेछ | खाटबाट नउठीकनै बत्तिको स्विच अन गरे | उज्यालो बढे पछि अलि सजिलो लाग्यो | मन शान्त भए जस्तो भयो | तर होइन रहेछ, मन पुराना कुराहरु सम्झन व्यस्त हुन थाल्यो |

चैत बैशाखको चर्को घाम हुन्थ्यो, अनि साझ परे पछि हेरेक दिन जस्तो हुरी चल्थ्यो | कस्तो अनौठो त्यो हुरी, त्यसलाई पनि साझ परेको थाहा हुने, मलाई यस्तै लाग्थ्यो | हुरी चले पनि साझ पख घरमै भैयो भने चै आनन्दै लाग्थ्यो | झ्याल ढोका बन्द गरेर खाटमा पल्टिएर झ्यालको एक छेउमा अलिकति पर्दा हटाएर अनिल बायुको अकाट्य रुप हेर्दै बसिन्थ्यो | घरसम्म पुग्न नसकेका बटुवाहरु, हावाको बेगका बिरुद्ध साइकल चलाउन नसकेका साइकल यात्रुहरु बाटोमा आकल झुक्कल देखिन्थे, कोहि भने हुरी नथामुन्जेल भन्दै घरसम्म ओत खोज्दै आइपुग्थे | वतास थामिएर पानी पर्न थाल्यो भने पानी संगै असिना पनि पर्थे | आहा! असिना, सानै र नबुझ्ने छदा असिना परेको दिन रमाइलो लाग्थ्यो मलाई | पानी परे पछी असिना पनि परे हुन्थ्यो जस्तो लाग्थ्यो | कहिले काँही पानीको बेगसंगै घर परिवारसंग छुट्टिएर आउने असिनाका झिना मसिना दानाले मेरो चित्त बुझाउन सक्दैनथ्यो | म तिनीहरुसंग रिसाउथे, एक्लै एक्लै आएकोमा; आफुसंगै ठुला ठुला असिनालाई नल्याएकोमा | तर असिनासंग रमाउने मेरो जवानी म बुझ्ने हुदै गए पछी ओइलाएर गयो | तर पनि हुरी चल्न छोडेन, त्यसरी नै असिना पर्न छोडेन |


ठुलो बुबाको खोल्माको छाना उडायो हुरीले, घरसंगै जोडिएको खेतको पल्लो कुनामा लगेर बजार्यो त्यो टिनको छाना | अंकलको घर जस्ता उडायो, अनि आँगनीमा झार्यो | यी मैले भोगेका हुरीका कर्तुतहरु | हुरीले टौवाहरु उडाउथ्यो, ढाल्थ्यो, रुखका हाँगा भाँच्थ्यो, ढाल्थ्यो उसलाई कसैको प्रबाह थिएन | गाउँमा हुरीले नउडाएका छानाहरु मुस्किलले भेटिन्थे, उ बेलामा गाउँ तिर टिनको छानाको चलन थियो क्यार, हुलासका रंगिन जस्ता पाताहरु भन्छन नि त्यस्तै | घाम पानी त राम्रैसंग छेक्थ्यो क्यार तर हुरी छेक्न पनि सक्थ्यो नछेक्न पनि सक्थ्यो | कच्चा सिकर्मी हुन् वा चर्का हुरी वा दुवै कुरा बुझ्न जटिल थियो | म अझ सानै छदा घरको आँगनीमा रहेको बढेमानको लिचीको बोट जरैसम्म उखालेर ढाल्यो; त्यो प्यारो लिचीको रुखको जीवन लिला समाप्त पारिदियो | मेरो आँखामा भने अर्को बर्ष लिची खान नपाइने भो भन्ने शंकाको चक्रब्यु तयार भयो | तर कालान्तरमा त्यो शंका, शंका मात्रै रहेन | त्यसपछी सायदै मैले धित मर्ने गरी लिची खान पाएको छु | उफ्फ़ |


उत्तरी इंगलैंड र मध्य स्कटल्याण्डमा यस्तै डरलाग्दो हुरी चल्यो, जनजीवन अस्त ब्यस्त बनायो, कयौले बिद्युत बिना नै समय बिताउन पर्यो | कयौ बाटो बन्द भए, कयौ बिद्यालय बन्द गराइए | यो फेरी हुरीको अर्को रुप, बिदेशी स्वरूप | डिक्सनरी.कम मा गएर storm शब्दको अर्थ खोज्दा यस्तो भेटिदो रहेछ
a disturbance of the normal condition of the atmosphere, manifesting itself by winds of unusual force or direction, often accompanied by rain, snow, hail, thunder, and lightning, or flying sand or dust.
तर यसपटक बेलायतमा बिशुद्द हुरी मात्रै थियो | अनिल बायुको अकाट्य रुप |

BBC मा नेपाली प्रशारणको समाचार सुनी सकेपछी, हुरीका केहि समाचारहरु एकै छिनमा अल्छि लाग्यो अनि बन्द गरिदिए | सिरक भित्र अझै गुटुमुटु परेर जिउ तताउन चाहे, तर आफुले चाहे जसरी जिउ तात्न सकेन | भित्तामा आढेस लगाएर झ्याल बाहिर हेर्दै बसे | अकस्मात बिहान श्रीमतीले भनेको कुरा याद आयो, भोली मन्दिर जाउ है | मनमनै हिन्दु धर्मले परिभाषित गरेको बायु देवतालाई सम्झिए | तर अंह मनले चित्त बुझाउन सकेन, त्यसैले हिन्दु धर्मले परिभाषित नगरेको बायु दानबलाई खोज्न तम्सिए |


अजय ढुंगाना 
८ डिसेम्बर लण्डन 
(photo: guardian.co.uk)


No comments: