Thursday, March 8, 2012

गौंथली र देवकोटा (कविता); महाकबि लक्ष्मीप्रसाद देबकोटा


गौंथली र देवकोटा

क.
गौंथली र देवकोटाको
एउटै गुँड छ ! एउटै गुण छ !

ख.
यस घाटमा क्या बाघ र पाठो पानी पिउँछ !
प्रकृति बसेर, दुइटैको दिल,
एक धागोमा सिउँछ, सिउँछ !
त्यो तर्सिन्न, म शङ्किन !
मध्यरातमा एक कोठामा
दुइटै जीवको जाग्ने निहुँ छ
तलतिर लागे यस संसारमा
आगो, आगो,
मास्तिर ज्यादा लागेदेखिन्
यशको चिसो हिउँ छ, हिउँ छ !
बीच बासो,
फ्यारफ्यार मध्यम,
रसले जिउँछ, रसले जिउँछ !

ग.

बिजुलीको तार लामो, मसिनो,
तानिएको हेर ! यहाँ छ !
तरङ्ग, लहर क्यै त्यसमा जिउँछ !
त्यसमा गौंथली रातमा रुँग्छ,
कविको मन पनि त्यस्तै उँग्छ !
स्वर्गले रोई हेरिरहेको
भिजेकी पृथिवी मनले सुँघ्छ !
दिनभर, दिनभर,
दिलले, साधन त्यस्तै हिलोमा
प्यारका एउटा महल बनाउन,
ठुँग्छ, ठुँग्छ !
सूनसानमा निशिको, सुत्दा
सारा संसार, जागी, जागी,
कल्पनाको आँखा उँग्छ !

घ.
सुहृदमधु छन, कविता, पोथी,
सँगकी ज्योति !
यस जगतमा खँदिलो बासो,
निम्ति, उनको ‘चिउँ’ छ !  ‘पिउँ’ छ !
मधुमास बिताउन नेपाल छान्यौं,
विवाहपछाडि,
स्वस्थ र अग्लो ठाउँ जुन छ ।
गौंथली र देवकोटाको
अध्यात्म मितेरी चुपचाप रुन्छ !
सृष्टिको हाम्रो पीडा देखी,
करुणादृग झैं तारामय नभ,
क¥याइँबाट झ्यालमा चिहाई,
एक तारमा गुड्छ गुड्छ !
गौंथली र देवकोटाको
एउटै गुँड छ ! एउटै गुण छ !

ङ.
वसन्त पछाडि लागी आयौं !
स्वपनाको फुल बिपना हुन्छ !
गौरी–शङ्कर गाना गायौं
प्रकृति पुरुषको जुहारी परस्पर,
गाना जुन छ !
त्यो चुच्चाको, यस रसनाको,
गाउँदो रचना हाम्रो घर हो !
युगका बच्चा आँखा उघार्लान,
हेर्दै पर हो !
दिनभर, दिनभर,
जगतले कुल्ची हिंडने हिलोमा,
हाम्रो नजर छ
त्यही हो हाम्रो घरको साधन !
यस्तो ईँट र यस्तो माटो, नेपालभर छ !
पृथिवीभर छ !
दिनभर, दिनभर, फ्यारफ्यार, भुर्भुर,
माटोको गन्ध नाकले सुँघ्छ !
स्वर्ग रोई, गीला, बनेका हिला चुचाले
उचाल्न खोजी ठुँग्छ, ठुँग्छ
गौंथली र देवकोटाको
एउटै गुँड छ ! एउटै गुण छ !

च.
बच्चा काढी यस गुँडमा जब
तिनको पखेटा उम्रन्छ !
वनमा लगीकन तिनलाई उडाउन,
हाम्रो मीठो मनसूब छ !
त्यसपछि प्यारा, प्यारी हामी
कविकविताको गौंथली जोडी
उडछ, उडछ !
सागर–किनार पुग्छौं, फ्यारफ्यार
एक बार फर्की,
आँसुले हेर्न,
मानिसहरुको जङ्गल जुन छ !
डुब्छौं, दम्पति सागरमा तब,
सुखमा हाम्रो आत्मा बुड्छ !
प्रसव–वेदनाको यो सदनको
पीडा उड्छ !
गौंथली र देवकोटाको,
एउटै गुँड छ ! एउटै गुण छ !

महाकबि लक्ष्मीप्रसाद देबकोटा
नेपालीकविता.कमबाट

No comments: