Thursday, April 11, 2013

नयाँ बर्ष


नयाँ बर्ष 
नयाँ बर्ष २०७० को शुभकामना सहित यो "नयाँ बर्ष" कविता आजको ब्लगको सामग्री 

समय,
आफैमा मादकताको रंग भरेर,
रसिलो बन्दै,
भरिलो बन्दै,
ढोकामा आएर,
ढक ढक गर्छ,
उ बैशाख बनेर आँउछ |

यता चेरी फुलेर झुलिरहेछ,
उता शिरिस फुलेर,
निलै भएको होला,
झुलिरहेको होला,
शितका थोपाहरु,
बिहानीको सुनौलो प्रकाशमा
टल्किरहेको होला,
बसन्तको शितल हावामा,
नौलाख प्रितका गितहरु,
गुन्जिरहेका होलान,
सत्यताको महत्व बोकेर,
यता अप्रिल दौडिरहेछ,
उता समय ढोकामा,
ढक ढक गर्दैछ,
बैशाख बनेर |

फेरी एकपटक,
एउटा प्रभात,
अध्यारो रात चिरेर,
आशाको संचार गराउन आइपुग्छ,
उत्साहको संचार गराउन आइपुग्छ,
हातमा नयाँ संवेगका,
रंगहरु सजाएर,
बिगतका स्मृतिलाई,
इतिहास बनाएर,
नयाँ स्वर्णिम भबिष्यका,
योजनाहरु बोकेर,
नयाँ प्रभातमा,
टुप्लुक्क आइपुग्छ,
जहाँ प्रभात नयाँ दिन मात्र हुन्न,
बैशाख हुन्छ,
नयाँ बर्ष हुन्छ,
नयाँ जोश, नयाँ जाँगर
नयाँ उत्साह हुन्छ |

अजय ढुंगाना

No comments: