Thursday, July 26, 2012

ओलिम्पिक इन लण्डन एण्ड मि


ओलिम्पिक इन लण्डन एण्ड मि
Olympic in London & me

आज भन्दा लगभग तिन बर्ष पहिले बेलायतको स्टुडेन्ट भिषा नेपालमा छरपष्ट हुदा अगष्ट महिनाको अन्तिम तिर हो क्यार त्यसतै एउटा स्टुडेन्ट भिषा मेरो हातमा परेको थियो त्यसको झन्डै एक महिना पछि दशैँको फूलपातीको अघिल्लो दिन बेलायतका लागि जेट इयरको जहाज चढ्नु अघि मेरो मनमा एउटा ख्याल आएको थियो, २०१२ को ओलम्पिक बेलायतमा हुनेछ म त्योसंग साक्ष्यात्कार हुनेछु | आज घडी घुमेर त्यो दिनको पूर्व सन्ध्यामा आइसकेको छ, म एक पटक बिगत फर्किएर हेर्ने कोशिस गर्दै छु | 

बेस्ट मिनिस्टर ब्रिजमा उभ्भिएर नदि पारी पट्टिको ब्रिटिस पार्लियामेन्ट हेरर म टोलाउदै बसिरहेको हुन्छु | यो बेलायतको सर्वाच्च शक्तिशाली संस्था, चाहे मलाई लण्डन ल्याई पुराउन होस् वा ओलम्पिकलाई लण्डन ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ अझ भनौ प्रमुख भूमिका खेलेको छ | मलाई र ओलम्पिकलाई एउटै शहरमा ल्याएर जोडीदिएको छ | यो पार्लियामेन्टका निम्ति म महत्वहिन र ओलम्पिक सर्बाधिक महत्वको बिषय | समयले करिब करिब तिन बर्ष बितायो, मेरो लण्डन बसाईंको, यहाँ आइसके पछि मेरा निम्ति ओलम्पिक गौण कुरा भयो, प्राथमिकताको लिस्टमा अनेक थोक परे जागिर, कलेज, भिषा, एमबिए, पैसा, कोठा, आदि आदि | प्राथमिकताको लिस्ट पटक पटक चेन्ज भए | तर कहिल्यै ओलम्पिक आइपुगेन त्यो लिस्टमा | तर खोला पारीको पार्लियामेन्ट भवनमा ओलम्पिक प्रमुख मुद्धा बनेर बसिरह्यो, प्राथमिकताको बिषय भैरह्यो | खोला वारी र खोला पारी दुइ फरक उदेश्य उभिएका थिए, खोलाको दुइ किनारको भेट नहुने निश्चित प्राय थियो |

Tuesday, July 24, 2012

म चेसको गोट्टी होइन (कविता)


म चेसको गोट्टी होइन 


मेरा हर पाइला
तिम्रो एक कदम पछि
चाल्नुपर्ने होइन,
किनकी, म चेसको गोट्टी होइन |

तिम्रो नियोजित षड्यन्त्रको
एउटा पात्र, म होइन,
जो बिद्रोह र सत्ता कब्जा मन पराउछ,
जो अरुलाई निबस्त्र पार्नुमा,
आफ्नो विजय सम्झन्छ,
घोडाको सवार,
हात्तीका लावा लस्कर,
आफ्नो सपनामा सजाएर बस्छ,
म इतिहासले नमागेको,
रक्त क्रान्तिको नायक होइन
म तिमीले खेल्ने चेसको उट होइन |

Thursday, July 19, 2012

पाँच हाइकुहरु



पाँच हाइकुहरु 

शिर्षक: जिन्दगी

1
त्यो मिठो धुन
सुनिदैन नि केही
मिठो मायाको |

2
घाम छाँयाको
मूल्य खोजिरहेछु
रोजी रोटीमा |

Friday, July 13, 2012

आदिकवि प्रति श्रदा-सुमन

आदिकवि प्रति श्रदा-सुमन


नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज परेको १९९ औ जन्म जयन्तिका अवसरमा आदिकवि प्रति हार्दिक श्रदा-सुमन ब्यक्त गदछौ | नेपाली भाषा र ब्याकरणको सम्रक्षण र सम्बर्दनमा लागि पर्नु हुने सम्पूर्णमा शुभकामना ब्यक्त गर्दछौ | नेपाली भाषाको रक्षा गरौ यो नेपाल र नेपालीको पहिचान हो |

अभिनव.कम परिवार 

Thursday, July 12, 2012

के यत्तिकैमा प्रेम हुन्न र?? (कविता)


के यत्तिकैमा प्रेम हुन्न र??

तिमी बुझ्दिनौ,
मेरो आँखाको भाब,
म जान्दिन,
तिम्रो इशाराको भाषा,
के यत्तिकैमा प्रेम हुन्न र ??

आजकल
मेरो कविताका शब्दहरु,
आकाश छुनलाई उर्लिदैनन,
न त,
मन नै,
उत्साहको पहाड,
एक सासमा उक्लिन खोज्छ,
सायद तिम्रो मन पनि,
त्यस्तै छ होला
घडीको सुइ ढिलो घुमे जस्तो,
मध्याह्नको थकाई लामो लागे जस्तो,
लाटो पहाड र बेमत्लबी बादल झैँ,
निस्सार जिन्दगी,
हत्केलामा खोजे जस्तो,
झुटो झुटो
मन झुटो, संसार झुटो
तर के यत्तिकैमा प्रेम हुन्न र ?

Friday, July 6, 2012

अर्धनग्न सोचाइहरु (कविता)

अर्धनग्न सोचाइहरु

निशाकालिन प्रभातहरुमा,
चिसो बिस्तारमा,
सुतिरहदा,
पानीको एउटा बाछिटो,
मलाई जिस्काएर गयो,
एक चिम्टी हावा,
मलाई गिज्याएर गयो,
म चुपचाप,
आफ्नो नियतीमा हाँसीरहे |

म पर्खाई  हूँ कसैको,
म जिन्दगी  हूँ कसैको,
चुपचाप साझको एक प्याला  हूँ कसैको |
म कसैको ओठको,
मिठो मुस्कान पनि हुन सक्छु,
तितो गाली पनि हुन सक्छु, 
तैपनि रहर छैन मलाई,
कसैको चुरा फोर्ने,
कसैको टोपी झिक्ने,
कसैको सिन्दुर पुछ्ने,
कसैलाई बाचुन्जेल टुहुरो बनाउने |

Tuesday, July 3, 2012

नमिठो सपना (कथा)


नमिठो सपना (कथा)

परदेशको बसाईमा बिक्रम मेरो काममा परिचित मित्र थियो | उमेर २८-२९ बर्षको मात्रै भए पनि कपाल मज्जैले झरेकाले उ अलि उमेर खा'कै मान्छे जस्तो देखिन्थ्यो | होचो होचो तर हसिलो मुहारको उ पनि म जस्तै बिद्यार्थी भिषामा यहाँ आएको थियो | तर बिद्यार्थी भिषामा आएको भए पनि उसको एक मात्र उदेश्य पैसा कमाउनु थियो, त्यसैले एकदमै सस्तो एउटा कलेजमा भर्ना भएको थियो | उ फुर्सद भएमा मुस्किलले सेमेस्टरमा एक दिन कलेज जान्थ्यो तर परिक्षामा भने सधै सामेल हुन्थ्यो, अहिलेसम्म कति वटा बिषयमा उत्तिण भएको छ, उ स्वंमलाई थाहा थिएन | तैपनि एक हिसाबले उसले आफ्नो विदेश बसाईको उदेश्य तय गरेको थियो, पैसा कमाउनु |

एक दिन काममा अर्को एक जना नेपाली साथीबाट थाहा पाँए, बिक्रमको झन्डै एक डेढ महिना अगाडि छोरा भएको रहेछ | म पार्ट टाइम काम गर्थे, त्यसैले बिक्रमसंग मेरो भेट आक्कल झुक्कल मात्रै हुने गर्थ्यो, त्यसैले अन्तरंग कुराकानी पनि कहिल्यै हुन पाएको थिएन तर पनि बिक्रमकी श्रीमती यही छिन भन्ने त् मलाई पहिले नै थाहा थियो | यो खबर सुनेको भोलिपल्ट मैले बिक्रमलाई फोन गरे, उसलाई बधाई दिए, मलाई थाहा नदिएको भनेर रिसाए पनि र अन्त्यमा त्यसको केहि दिनपछि उसको छोरालाई हेर्न आउने बनेर प्रतिबद्धता जनाए | त्यसको एक साता पछि श्रीमती र म उसको घर जाने भयौ, गाडीमा झन्डै एक घण्टाको यात्रा पछि उसको घर पुगियो | म उसको घर पहिलो पटक गएको थिए | उसले दिएको पोस्ट कोड र घर नम्बरका आधारमा घर पत्ता लगाउन गाह्रो भएन | उसलाई भेटे, उसको श्रीमतीलाई पहिलो पटक भेटे अनि उसको घरको नब-आगन्तुक छोरालाई पनि, मेरी श्रीमतीसंग पनि उनीहरुको परिचय भयो | केही रमाइलो कुराकानी भयो | तर म आफै भित्र अचम्म लाग्दो कुरा के भयो भने, मैले बिक्रमकी श्रीमती अर्थात् उनको नाम रश्मि रहेछ, उनलाई कतै देखे जस्तो लाग्यो, तर कहिले कहाँ केही कुरा यकिन गर्न सकिन, त्यसैले उनलाई पनि केही कुरा सोधिन, हामी त्यहाँबाट त्यतिकै फर्कियौ, तर मनमा कुरा खेलीरह्यो कहाँ देखेको हूँ भनेर |