Friday, December 31, 2010

नवबर्ष २०११को हार्दिक मंगलमय शुभकामना


नवबर्ष २०११को उपलक्ष्यमा हाम्रो यो ब्लगलाई माया गर्नु हुने सम्पूर्ण पाठक, शुभचिन्तक तथा मार्ग निर्देशन गर्ने अग्रजहरुलाई शुभकामना ब्यक्त गर्न चहान्छौ, नया बर्षले तपाईमा नया जोश, जागर, उत्साह, खुशी, सुख, शान्ति  प्रगति र सकारात्मक सोच ल्याउन सकोस् भन्ने कामना गर्दछौ

Thursday, December 30, 2010

नयाँ वर्ष (कविता); भूपी शेरचन

 नयाँ वर्ष

नयाँ सरुवा भई आएको हुलाकेझैं
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिँडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ता–घडीको लङगूर हल्लिरहेछ उसको
पदचापले
ट्वाक्......ट्वाक्........ट्वाक्........ट्वाक्
निस्तेज भई आकाश पल्टेको छ
न्यास्रो अनुहार पारेर
बेमौसमको बर्षात
बेला–कुबेलाको वादलको गड्याङ–गुडुङ
आकाशलाई पखाला लागेको छ
विष्णुमतीको फोहर हैजे पानी पिएर
ट्वाँ......
सहनाइको बेसुरा ध्वनिबाट निस्किरहेका छन्
हैजाका असङ्ख्य अदृश्य कीटाणुहरु
मध्यान्ह दिन
चर्को घाम

परेवा र चील (कविता); विक्रम सुब्बा

परेवा र चील

जुनसुकै देशको
जतिसुकै अग्लो डाँडाबाट
जतिसुकै सेतो परेवा उडाए पनि
दिउँसै खुला आकाशमा
चीलले परेवाको शिकार गर्छ
…र चील
अमेरिकाको राष्ट्रिय पक्षी हो ।

विक्रम सुब्बा


source: www.nepalikavita.com

Wednesday, December 29, 2010

गजल (१०५); अजय ढुंगाना


             गजल

नसोध म कुन यथार्थमा ढलेर पिउदैछु,  
आफ्नै आखा आफैसंग छलेर पिउदैछु, 

छैन भन्छयौ माया, बिर्सदै त्यो अतित, 
तर तिम्रो मायाको नशाले गलेर पिउदैछु,
 
तड़पिदै छु पल पल, तिम्रै मायामा हर पल, 
जलायै तिमीले मलाई! हो म जलेर पिउदैछु, 

मायाको ज्योति जगाउन दियो बालेथे मैले, 
घरै जलायो त्यसले, त्यसैमा बलेर पिउदैछु


 अजय ढुंगाना

Tuesday, December 28, 2010

गजल (१०४); अजय ढुंगाना

गजल

बर्षात नभएको रात कति नरमाइलो,
  छुट्टिदा तिमीसंगको साथ कति नरमाइलो,

खोज्दछु अस्थित्व यो धरातलमा हाम्रो प्रेमको,
नहुँदा प्रेमको सौगात कति नरमाइलो,

दुर छु तर दुरतामा तिमै्र मायाको आभाष,
नभेट्दा त्यो स्नेही हात कति नरमाइलो,

खोज्छन् नयनहरु यताउता मात्र तिमीलाई,
नसुन्दा त्यो मधुर वात कति नरमाइलो,

रात मात्र हुन्छ यहाँ हर क्षण मेरा लागि,
फर्केर नआउदा प्रभात कति नरमाइलो,

अजय ढुंगाना

Monday, December 27, 2010

एक कप ब्ल्याक स्ट्रोङ कफी; अजय ढुंगाना

एक कप ब्ल्याक स्ट्रोङ कफी
(आफ्नै गन्थन)


चिसो निकै नै बढेको छ; जिउ तात्नै गाह्रो मान्छ, खुट्टामा मोजा, हातमा पन्जा लगाएर कति बस्नु, असजिलो लाग्छ | हात, खुट्टा खाली राखेर आफै चलाउन नपाउदा बेग्लै किसिमको खसखस लाग्दो हुन्छ | समय काट्न पनि कति गाह्रो हो, दिनभरी घरमै बसिरहनु पर्दा पट्यारलाग्दो हुन्छ तैपनि एक कप तातो कफी खान मन लाग्यो अनि तल किचनमा गएर बनाएर ल्याए; यो बीचमा उता (काठमाडौँ) मा पनि निकै चिसो बढेको सुनेको छु |

कप रित्तिएपछि झ्यालको छेउमा गएर उभिन्छु अनि बाहिर हेर्न थाल्छु; हिउ परेर ओभिनसकेका कान्ला र चौरहरु देखिन्छन मेरो कोठाको झ्यालबाट, यो घर भन्दा पछाडी पट्टीको दृश्य हो | झ्यालको छेउबाट फेरी छिटै नै खाटमा गएर बस्न मन लाग्दैन, कुर्चीलाई झ्यालको छेउमा तान्छु र त्यसमै बसेर फेरी बाहिर तिर हेर्न थाल्छु | चिसोले गर्दा एकै ठाउमा गुइठो परेर बस्न खोजे जस्तै गर्छु, तर त्यसले पनि काम गर्दैन | नेपालबाट आउदा खेरी ल्याएको दिदीको खैरो पछ्यौरा खाटबाट झिकेर ओडेर बस्छु; खुट्टालाई सेन्ट्रल हिटिंगको टिनमा छुवाएर राख्छु, अनि बेला मौकामा हातले पनि त्यही टिनको पाता छुन्छु |

घर नजिकैबाट एउटा ट्रेन उ पर ब्रिमिंगहमसम्म पुग्छ, त्यसैको आवाजले मेरो ध्यान त्यतै तिर तानिन्छ, म हेर्छु त्यो रेललाई; त्यो सेतो रंगको 'चिलटन रेल' आजसम्म चढ्ने मेसो मिलेको छैन, त्यसको अनुभव अह, म बर्णन गर्न सक्दिन, त्यो मेरो जिन्दगीको अनुभव भन्दा परको कुरा | ट्रेन गैसकेपछी, त्यहाँ देखिन्छ, उही पग्लिन बाकी हिउका बुदहरु | म सोच्छु, सम्झन्छु, मेरो जिन्दगीका रंगहरु, चितवन, काठमाडौँ र लण्डनको बसाई; अनि आफ्नै अभिलाषाहरुको मन भित्रको द्वन्द | २०६३ सालमा काठमाडौँमा हिउ पर्दा किर्तिपुरमा मेरो बसाई थियो, फाल्गुन ३ गते, उपत्यका बन्दको दिन हिडेर चन्द्रागिरिसम्म पुगेको र हिउमा चिप्लिएको मेरो मस्तिष्कमा ताजै छ | त्यसको ३ बर्ष पछि गत बर्ष आफैसंग साक्षात थियो थेगी नसक्नुको हिउ; र अघिल्लो बर्षको अनुभबलाई बिर्साउदै, यो बर्ष झन् धेरै हिउसंग साक्षात भए | समयको बहाबसंगै बग्दै जादा र जिन्दगीका कान्लाहरु चढ़दै जादा, ''यी सबै त आउदै जादै गर्छन'' बाबा भन्ने गर्नु हुन्थ्यो; म बाबालाई सम्झन पुग्छु | मेरा सम्झनाका शृंखलाहरु अकस्मात आछाम र जाजरकोटका डाडा तिर पुगेर अल्झिन्छन, बाबा यतिबेला त्यतै हुनुन्छ, पछिल्लो पटक उहासंग झन्डै २ महिना अघाडि कुरा भएको थियो | बाबा, २०६४ सालमा जिरी पुग्दा यस्तै मनका अभिलाषाहरु मध्यको एक, आकाशमा कबास झैँ उड्ने, निर्मल, कन्चन हिउका बुद्हरुसंग पहिलो पटक साक्षात हुनु भएको थियो रे; जिरीबाट फर्किएर काठमाडौँ आए पछि भन्दै हुनुहुन्थ्यो, यो भन्दा पहिले पहिले हिउले पुरिएर सेताम्मे भएका डाडाहरु त देखेको थिए तर आकाशबाट परिरहेको यति धेरै हिउसंग साक्षात भएको यो पहिलो पटक हो | उहाले यो भन्नुहुदा मैले उहाको मुहारमा एउटा बेग्लै किसिमको उत्साह देखेको थिए |

Saturday, December 25, 2010

घण्टाघर (कविता); भूपी शेरचन

घण्टाघर

कुनै फाटेर
कुनै मुसाले काटेर
कुनै छोरा–नाति
सँगी–साथीहरुमा बाँडेर
एक–एक गरी
फौजका सब पुराना जर्सीहरु सिद्धिए ।
तर जतनसाथ बचाई राखेको
फौजी जीवनका दुइटा प्रिय चिन्ह
एउटा पुरानो डिजाइनको ठूलो, गोलो जेबघडी
छातीमा झुण्ड्याएर,
अनि एउटा पुरानो टोप शिरमा लगाएर
बुढेसकालमा लामा र दिक्दारे दिन बिताउने
एउटा पेन्सनवाल बूढो लाहुरेझैं
रानीपोखरीमा बल्छी हालेर
तटमा उभिएर निरन्तर
झोक्रिइरहेछ घण्टाघर ।

भूपी शेरचन
घुम्ने मेच माथि अन्धो मान्छेबाट

Thursday, December 23, 2010

PAGAL (Poem) by LP Devkota, translated in english



PAGAL 
LUNATIC

Oh yes, friend! I'm crazy!
that's just the way I'm.

I see sounds,
I hear sights,
I taste smells,
I touch not heaven but things from the underworld,
things people do not believe exist,
whose shapes the world does not suspect.
Stones I see as flowers
lying water-smoothed by the water's edge,
rocks of tender forms
in the moonlight
when the heavenly sorceress smiles at me,
putting out leaves, softening, glistening,
throbbing, they rise up like mute maniacs,
like flowers, a kind of moon-bird's flowers.
I talk to them the way they talk to me,
a language, friend,

Wednesday, December 22, 2010

गजल १०३; अजय ढुंगाना

गजल
मलाई भेट्न आउदा मनभरि मायाको आभाष लिई आउनु,
हिजोसंगै विताएको त्यही स्वर्णिम ईतिहाँस लिई आउनु,

तिमी आउने बाटो भरि बिछ्याईरहन्छु म मेरा नयनहरु,
हत्केलामा सुनगाभा अनि शिरमा लाली गुराँस लिई आउनु,

विस्तारै पाइला चालौंला हामी गन्तव्य टाढा भए पनि,
तर गन्तव्यमा पुगी छोड्ने अटल विश्वास लिई आउनु,

अकन्टक अनि अगम्य हुन सक्छ हामीले हिड्ने बाटाहरु,
जवानीको जोश होइन मनमा अदम्य सहास लिई आउनु,

निस्पट्ट अध्याँरो भित्र मन कतै हराउन सक्छ त्यसैले,
शुभ प्रभातमा पोखिएको अलिकति प्रकाश लिई आउनु,

जिउनु छ एउटा अभिनव जीवन तिमीले अनि मैले सानु,
सुत्न त धर्ती छदैछ बरु ओड्न आकाश लिई आउनु,

अजय ढुंगाना

Tuesday, December 21, 2010

गजल(१०२), अजय ढुंगाना

      गजल

सम्वन्ध त्यो आज मोडेर जानेलाई,
सम्झना छ भनिदिनु छोडेर जानेलाई,

यादमा तिमी हरपल मेरो मनभरि,
मनको विश्वास त्यो तोडेर जानेलाई,

Sunday, December 19, 2010

गजल (१०१); अजय ढुंगाना

रात रहेछ जिन्दगी सोचें भन्दा फरक,
घात रहेछ जिन्दगी सोचें भन्दा फरक,

स्पर्श गर्न नसक्ने प्लास्टिक सर्जरीको,
हात रहेछ जिन्दगी सोचें भन्दा फरक,

न निल्नु न ओकल्नु, जहर हालेको,
भात रहेछ जिन्दगी सोचें भन्दा फरक,

हर विश्वासमा चोट लाग्छ, तिरस्कारको,
खात रहेछ जिन्दगी सोचें भन्दा फरक,

राफिएको मनलाई शितलता दिन नसक्ने,
पात रहेछ जिन्दगी सोचें भन्दा फरक ।
 
अजय ढुंगाना

आवाज मोबाइलको(लघुकथा); किशोर पहाडी

कथाकार: किशोर पहाडी

महानगरको मध्यभागमा रहेको एउटा सानो हल ।

हलमा देशका केही रङ्गकर्मीहरू भेला भएका थिए । ज्यादै गम्भीर विषयमा उनीहरूको व्याख्यान चलिरहेको थियो- "नयाँ नेपालमा रङ्गकर्मीहरूको भूमिका" ।

सुरेखाजी बोल्दै हुनुहुन्थ्यो- "...अब देश गणतन्त्रात्मक भइसकेपछि रङ्गकर्मीहरूले पनि आफूलाई सोहीअनुहरूप प्रस्तुत गर्नसक्नुपर्छ ।..."

बीचैमा अचानक कसैको मोबाइलको घण्टी बज्यो । श्रीधरभाइको रहेछ । खल्ती समाउँदै, कुपि्रँदै उनी हलबाहिर निस्के ।

सुरेखाजीले ३-४ मिनेटमै बोल्न सिध्याएपछि अनि विगतका राजावादी सौभाग्य थापाले रङ्गकर्मभन्दा पनि बडो गर्वकासाथ आफू लोकतन्त्र प्रेमी भएको व्याख्यान छाँट्न थाले । त्यो व्याख्यानको सुरुमै कसैको मोबाइल फेरि बज्यो । मोबाइल हेर्दै, कुपि्रँदै रघु श्रेष्ठ पनि हलबाहिर गए ।

अब बोल्ने पालो श्रीधरभाइको थियो । ज्यादै छोटकरीमा आˆनो विचार राख्दै थिए कि एकैचोटि दुई जनाको मोबाइल बज्न थाल्यो । ध्रुव र विजयको रहेछ । दुवैले आ-आफ्नो मोबाइल अफ गरे ।

अन्तमा वरिष्ठ रङ्गकर्मी तथा त्यस समारोहका सभापति सहदेव शर्मालाई "नयाँ नेपालमा रङ्गकर्मीहरूको भूमिका" विषयमा मन्तव्यका साथ सभा विसर्जन गर्ने अभिभारा दिइयो । शर्मादाइ उठ्नुभयो र माइकको अगाडि पुगी भन्नुभयो - "म अरू केही पनि भन्दिनँ । ...यत्ति भन्छु- अबदेखि यस्तो समारोहमा सबैले आ-आफ्नो मोबाइलको स्विच अफ गरिराखौँ ।... ... ..."

उहाँले यत्ति मात्र के भन्नुभएको थियो, वातावरणमा फेरि मोबाइलको घण्टी गुञ्ज्यो । अहिलेको यो आवाज अन्तबाट नभई शर्मादाइकै खल्तीबाट आइरहेको रहेछ । अकमकिँदै सभापति सहदेव शर्माले आफ्नो खल्तीबाट फोन निकाल्नुभयो र माइक अगाडि उभिएको उभियै फोनमा भन्नुभयो- "हैलो... ! ...म तिमीलाई एकछिनपछि फोन गरुँला ।... ..."

स्रोत: नेपालीलघुकथा.कम

गजल(१००); अजय ढुंगाना

निभ्यो आस्थाको दियो र रोए,
विश्वासले वदला लियो र रोए,

भन्छन् हर निशा पछी उषा आंउछ
मसंग मात्र रात थियो र रोए,

स्वप्निल रहरहरु दौडन्थे मनमा,
भाँचियो मनको मियो र रोए,

भावना विचारको कैदी भएपछी,
सराव संगै जिन्दगी खियो र रोए,

मन फाटेको छ, सकिन सिउन,
हरायो एक तिलस्मी सियो र रोए,

विक्षिप्त मन भै वाँच्नु नै छ आखिर,
जिन्दगीले धोका दियो र रोए,
 
अजय ढुंगाना

Saturday, December 18, 2010

२ गजल; मोतिराम भट्ट

गजल १
दुइ आँखिभौँ त तयार छन्, तरबार पो किन चाहियो,
तिमी आफु मालिक भैगयौ, सरकार पो किन चाहियो

पहरा कडा छ कटाक्षको, हरदम तयार मुहारमा,
घर भन्नु भारि महल न हो, दरबार पो किन चाहियो

कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको
मणि, मोती, नीर जुहार न हो, अरु हार पो किन चाहियो

गजल
जसै बङ्गको रंग छाडेर आयें ।
तसै फागुको रंगमा म हरायें ।।१।।

विनोदको अहा आज खोज्दैछु माला ।
नपायेर सार्है दुखी भै करायें ।।२।।

उठ्यो झोक जसै योग साघूँ कि भन्ने ।
तसै फागु खेलूँ भनी मन डुलायें ।।३।।

अबीरको पनी रंग कच्चै रहेछ ।
दसेक धार्निमा केहि बढ्तै घसायें ।।४।।

ठुलो एक झ्याँगा भरी रंग थियो ।
लुगा साथ पसी रंग पक्का जमायें ।।५।।

पर्यो फेरि झोक्का अबीरको उ माथि ।
अबीर ह्वैन मानो विभूती रमायें ।।६।।

लिये झेलि ‘मोती’ अबीरको विभूती ।
विनोदी भयी मन्त्र मैले जगायें ।।७।।


मोतिराम भट्ट

Friday, December 17, 2010

मान्छे हो! यिनलाई प्यार गर है; माधव प्रसाद घिमिरे(गौरी खण्ड काव्यबाट)

खेल्दै शान्ति र कान्ति खाटनजिकै आई बसेका थिए
हेरी यी अनजानलाइ उनका आँसू खसेका थिए
बिस्तारै शिरमा मुसारि यिनको, केही नबोली गइन्
हाली आशिक बिन्दु बिन्दु गहको आँसू खसाली गइन्

गाईलाइ लग्यो नि ! आज कसले बाच्छो छुटाईकन
पोथी पाश परी मरी नि ! गुँडका बच्चा नहुर्कीकन
के हेछ्र्यौ यतिको बिजोग, धरती माता ! तिमी फाट हे
आमा बालककी नमार भगवन् ! संसार भर्ने भए

हेर्छे शान्ति यताउती घरभरी आमा कतै देख्तिन
हेर्छे फेरि मलाइ खालि मुखमा केही पनी बोल्दिन
‘आमा ख्वै ?’ भनि वेगले हृदयमा टाँसेर रोऊँ कि म
अज्ञानी वय चारकी छ, टुहुरी पार्यौ विधाता, किन !

आमालाइ रुँगेर कान्ति दिलको संसार जो घेर्दथी
आधा दूध चुसेर फेरि मुखमा हाँसेर जो हेर्दथी
सुत्छे आज रुँदारुँदै हृदयमै थाकेर औँलो चुसी
मेरो झस्किरहेछ हेर, मुटुको टुक्रा ! भुईँमा खसी

मेरा चञ्चल शान्ति कान्ति सुखले नाना र चाचा भनी
खेल्थे खलबल गर्दथे घरभरी रुन्थे फुलिन्थे अनि
यी हाँस्थे जब फुल झैँ नजरको आँसू नसुक्तै पनि
ती धुन्थिन् दुधले मुहार यिनको त्यै आँसु पुछ्दै अनि

पाक्यो भात भनेर शान्ति उनकै सन्देश ली आउँथी
अड्डाबाट म फर्किएँ कि उनकै जाली कुरा लाउँथी
खाई म्वइ नचाइ कान्ति सुखले भन्थिन् मलाई उनी
‘यस्तै सानु सधैँभरी रहिरहे कस्तो हुँदो हो ! भनी

ती देखाउँदथिन् मलाइ, कतिकी राम्री छ सानी भनी
ती गर्थिन् मनभित्र गर्व, बहुतै बाठी छ ठूली भनी
ती भन्थिन् कहिले त्यसै हजुरकी छोरी छ छुच्ची भनी
ती रुन्थिन्, यिनलाइ व्यर्थ अरुले हेलाँ गरे रे भनी

त्यो श्रृङ्गार र त्यो सुसार त्यो आधार सारा गए
आमा भन्नु गइन्, गयो हृदयको शोभा अँध्यारा भए
धूलामाथि बसेर काख उनकै ढुक्छन् यहाँ केवल
कुदछन् त्यै ममता र प्यार, कहिल्यै मेटिन्न है तल्तल

यी रोए पनि दुःख लाग्छ– यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि सुक्ख छैन– यिनले बिर्से नि आमा भनी
को हेर्ला अब हर्षसाथ– यिनले हुर्केर खेले पनि
फाटी मर्नु छ, पीर लाग्छ– यिनले फुर्की नखेले पनि

सानीलाइ फुल्याउँला कति यहाँ औँलो चुसाईकन
ठूलीलाइ भुलाउँला कति यहाँ आँसू लुकाईकन
आफैँ यो सब वज्रपात यिनले बुझ्लान् जसै आखिर
रोऔँला अनि एक रात सँगमा हेरेर तारातिर

यो लाम्चो भरिलो मुहार, उनकै बान्की छ यो कान्तिमा
चाँडै नै रिस उठ्छ मर्छ, उनकै बानी छ यो शान्तिमा
छन् छोरीहरू गैसके पनि उनी, छाया यहाँ हेर्दछु
यी दोस्रा अवतार हुन् र उनको माया यहीँ गर्दछु

धोको क्यै यिनको पुर्याउँन भनी हिँड्दा कहीँ जोशमा
मैले भूल गरेँ भने भुवनका भाई ! गरे है क्षमा
केही गर्न नपाउँदै मरिगएँ आफैँ भने आखिर
खोजी यी टुहुरा, दयालु दुनियाँ, केही गरे है भर !

बेहानै यिनलाइ एक चिडिया आएर बोलाउँछिन्
बारीमा यिनलाइ एक पुतली आएर खेलाउँछिन्
छाया एक सँगै रहेर यिनको रक्षा सधैँ गर्दछिन्
मान्छे हो ! यिनलाइ प्यार गर है तारा कुनै हेर्दछिन्


राष्ट्रकवि माधव प्रसाद घिमिरेको शोक काब्य गौरीबाट

मेरा साथीहरु (कविता); भूपी शेरचन

मैले पिएकोमा रिसाएका साथीहरु
पिएर त हेर, पिउन झन् गाह्रो छ ।
मरेर शहीद हुनेहरु
जिएर त हेर, जिउन झन् गाह्रो छ !!


भूपी शेरचन
'घुम्ने मेच माथि अन्धो मान्छे' कविता संग्रहबाट 

शिरीषका फूलहरू(कविता); गोबिन्‍दराज विनोदी

देखे शिरीषका फूल फुलेको यो वनैभरि
नीलो सारी लगाएकी बैसालु  युवती सरी

यो जेठ महिना, केही पानीका छन् छिटाहरु
युवतीसित जिस्केझै बैसमत्त ठिटाहरु !
जलको स्पर्शभै झर्छन् लजाई धरतीतल
यी साना फूलका अङ्ग कति कोमल निर्बल !

कति सुन्दर त्यो रङ्ग, रुपको अभिदशर्न
हेर्यो  जति अझै हेर्न  हुन्छ उत्सुक यो मन !
कस्तो क्षणिक चोला यो, जिन्दगी कति स्वप्निल,
सानै आघातले  फुट्ने कमजोर कठै ! दिल

हेर्दा शिरीषका फूल, जिन्दगी पनि देखियो
सुनौला मनको पाना भरी यो पद्य लेखियो ।

२०६५/२/४
गोबिन्‍दराज विनोदी
हिमस्पर्श कविता संग्रहबाट

Sunday, December 12, 2010

नजिक टाढा (कविता); बि.पी.कोइराला

नजिक टाढा

पानीले निथुक्क भिजेपछि
धरती त्यसैत्यसै चलमलाउन थाल्छ
मुहारमा निन्यारोपन लिएर पनि
इन्द्रेणी मुस्कुराहिरहेको हुन्छ
पानीको थोपा बक्षस्थलमा खस्दा
धरती त्यसैत्यसै मोहित हुन्छ
धरती त्यसै प्रफुलित हुन्छ
यौबनको मादकताले धरती
त्यसै चलायमान हुन्छ
पानीले धरतीलाई सधै
माया गरेर चुम्छ
धरती र पानीको माया
महासागर भएर फैलन्छ
इन्द्रेणीमा घाम पानी, घामपानी
..........कुकुर जन्ती बिरालो बाहुन

एक सुन्दरी वेश्याप्रति(कविता); महाकबि लक्ष्मी प्रसाद देवकोटा

एक सुन्दरी वेश्याप्रति


छ प्राप्तिको सुरा शरद् ! सुखोत्सवी छ मानव !
फली, फुकी, धनी धरा सुनौलिएर मुस्किइन् !
सुधा–उरीज सप्किंदी ! स्वभावमस्त ! मुस्कुरी !
ए सुन्दरी ? रसा सरी रुमाल फर्फराउँछयौ ?

रसाल भार रेशमी विचित्र चित्र रेखिए !
बन्यौ कि फूलले तिमी ? सुगन्ध ली हवा बहे !
रङ्गीन ज्यान झ्यालकी ! बजारबीचकी उषा !
उपास्दथें म अम्बिका ! झसङ्ग झैं यहाँ भएँ !

शरन्निशा तिमी झुकी, झिकी लजालु घूँघट,
स्मिति–प्रयोगिनी बनी, जिती सफेद चाँदनी,
सितारिंदी उदाउँछयौ ? बनाइ अङ्ग मख्मली ?
टुना गरेर चित्तमा चकोरका झिलीमिली ?

अनङ्गबाण झैं बस्यौ ? मिलिन्द डाक्न चञ्चली !
स्वरुप–शिल्पकारको टुना गवाउनाकन ?
म हूँ सितार स्नायुको, बजीरहेछु झन्किँदै !
समुद्र आज हो बडो छचल्किँदो जुनेलिँदै !

Friday, December 10, 2010

आमाको सपना(कविता: गोपाल प्रसाद रिमाल)

आमा, त्यो आउँछ र ?
“हो, बा, त्यो आउँछ ।
तयो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
त्यासको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ;
त्यसैले ऊ अधर्मसित लड्नेछ !
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभनदा पनि
बढ्ता छोइने भएर आउँछ ।”
हो र आमा ?
“हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ;
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि;
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि;
तर त्यो मीठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ !
तयो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो !
जे होस् त्यो आउँछ;
म आमा हुँ, सारा सृजनशक्तिको मुख भएर
म भन्न सक्तछु,
तयो आउँछ,
मैले यो कुनै अल्छी सपना देखेको होइन !
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ;
सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुनेझैँ सुन्ने छैनौ;
तिमी त्यसलाई आफैँ नै देखन सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुनेछौ;
मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा हुनेछौ;
मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल
मुसारिरहनुपर्ने छैन !
हेरौँला, त्यो हुरी भएर आउनेछ,
तिमी पात भएर पछयाउनेछौ !
उहिले त्यो जीवनलोकबाट झरेर जूनजस्तै पोखिँदा
सारा जडता सगबगाएको थियो, बा;
त्यो आउनेछ, तिमी उठ्नेछौ !”
त्यो आउँछ कि आमा,
मधुर उषाले चराहरुको कण्ठलाई जस्तै
त्यो आउन आशाले मेरो हृदयलाई कुतकुत्याइसक्यो आमा !
“हो, त्यो आउँछ,
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
अब म उठेँ, गएँ ।”

“तर त्यो तिमी नै हौला भन्ने
मेरो यौवनभरिको सपना थियो !”
० ०
० ०
गोपाल प्रसाद रिमाल

Wednesday, December 8, 2010

इतर समय (रचनाकार: सरुभक्त)

इतर समय


मृत्युमहोत्सव
पीडाहरुको कोलाहल वगेर
आखेटिक विश्वासहरुमा
धुमकेतु उदाएको वेला
म हब्वलका आँखाहरुले हेर्दैछु
मान्छेका अन्तरिक्षहरु
उन्मीलित ताराहरुको देश
च्याउ फुलेका ब्रह्माण्ड वीथीभरि
किरणस्नान गर्दै
कुन जम्बालहरुमा चिप्लन्छन्
मेरा पयरका विश्वासहरु ?
म अन्धकूप अन्तरिक्ष पोखरीमा
माछामार्न हिडेको छैन
आह ! गिद्धहरुको दाहसंस्कार
अन्तरिक्ष अकाल धर्तीभरि
म सप्रसङ्ग षड्ऋतुहरुमा
आयामहरुको टोष्ट खाँदैछु

Tuesday, December 7, 2010

गलत लाग्छ मलाई मेरो देशको इतिहास (स्व. भूपी शेरचनको कविता)

जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो बाटोमा बीचमा माटो खनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका देवताहरु
यो बुझेर पनि लाटो बनेर
बसेका मानिसहरु
यी भूकम्पपीडित मन्दिर

ढल्केका गजूरहरु
यी सालिक बनेर दोबाटोमा
उभिएका हजूरहरु
जब देख्छु म यी सबलाई
सधै त्यहीं— सधै उस्तै र
सधै एकनास
तब मलाई गलत लाग्छ
मेरो हुरीको इतिहास
जब म
असङ्ख्य सीताहरुलाई सधै
बाटो–दोबाटोमा,
गल्ली–गल्लीमा,
देश–विदेशमा,
यूक्लिप्टसका रुखझैं नङ्ग्याइएको देख्छु
अनि जब देख्छु असङ्ख्य भीमसेन थापाहरुलाई
निस्पन्द, निश्चल, शिथिल, चुपचाप उभिएका
आफ्नो आत्माको गीत मारेर
कल्कीका बोटझैं
दुबै हात तल झारेर
तब मलाई गरु-गरु झैं लाग्छ
आफ्नो रगतको उपहास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
सुन्छुः अमरसिंह काँगडासम्म बढेको कुरा
सुन्छुः तेन्जिङले सगरमाथा चढेको कुरा
सुन्छुः बुद्धले धरामा शान्तिको बीउ छरेको कुरा
सुन्छु: अर्निकोको कलाले विश्व–मन हरेको कुरा
सुन्छुः सधै सुन्छु र केवल सुन्छु
तर मलार्इृ हुदैन विश्वास
जब म
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कलीजस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई गलत लाग्छ
मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास ।

स्व. भूपी शेरचन

मेरो अन्त्य एक महाउत्सब, म मक्केको राजतन्त्र(कबिता); अजय ढुंगाना

मेरो अन्त्य एक महाउत्सब, म मक्केको राजतन्त्र

एक आश आँखाबाट हराउदै छ,
बिस्तारै बिस्तारै.....|
सुस्तरी सुस्तरी......|

सायद आँखामा तिक्तताको कालो छाउँदै छ,
मन बेचैन भएको बेला,
मन अस्थिर भएको बेला,
सायद निराशाका बादलहरुले छोप्दैछ मलाई,
खै, किन हो थाहा छैन,
म आत्मा आलोचना गर्न सकिरहेको छैन,
सायद शब्दहरु मबाट टाढिसकेका छन्,
सायद तिनीहरु बिक्षिप्त अवस्थामा छन्,
म शब्द संयोजन गर्न सक्दिन,
मलाई शब्दहरुले पोलिरहेछ यतिबेला,
मलाई शब्दहरुले जलाईरहेछ आजभोली |